बुधबार, २ वैशाख २०८३-भारतीय राज्य बिहारमा राजनीतिक परिवर्तनसँगै सम्राट चौधरी नयाँ मुख्यमन्त्री बनेका छन्। उनले बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सम्राट चौधरी बिहारमा भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट मुख्यमन्त्री बन्ने पहिलो नेता बनेका छन्।
उनीसँगै जनता दल युनाइटेड (जेडीयू) का विजय कुमार चौधरी र बिजेन्द्र प्रसाद यादवले पनि मन्त्री पदको शपथ लिएका छन्। उनीहरूलाई उपमुख्यमन्त्रीको जिम्मेवारी दिइने अपेक्षा गरिएको छ।
शपथ ग्रहण कार्यक्रममा पूर्वमुख्यमन्त्री नितिश कुमार पनि सहभागी थिए। कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै विजय कुमार चौधरीले नयाँ सरकारले नितिश कुमारले अघि सारेको विकासको मार्गलाई निरन्तरता दिने बताए। त्यस्तै, बिजेन्द्र प्रसाद यादवले पनि नितिशका कामलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
राज्यसभा सदस्यमा निर्वाचित भएपछि नितिश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
उनको राजीनामासँगै बिहारमा लामो समयदेखि जारी ‘नितिश युग’ समाप्त भएको छ। नितिश कुमार पहिलोपटक सन् २००० मा छोटो अवधिका लागि मुख्यमन्त्री बनेका थिए भने सन् २००५ नोभेम्बरदेखि निरन्तर उक्त पद सम्हाल्दै आएका थिए।
पछिल्लो पटक सन् २०२५ को विधानसभा निर्वाचनमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को जितपछि उनी १०औँ पटक मुख्यमन्त्री बनेका थिए।
बिहारमा नितिश युगको अन्त्य, सम्राट चौधरी बने पहिलो भाजपा मुख्यमन्त्री
Leave a Comment
Leave a Comment

