बालेन शाह आज प्रधानमन्त्री बन्दै, मन्त्रालय संख्या घटाउने तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१३ चैत २०८२, काठमाडौं । आज मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। शपथ समारोह राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ।

संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो। शपथ समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै केही मन्त्रीहरूको पनि शपथ गराइने तयारी छ।

यसैबीच, नयाँ सरकार गठनसँगै मन्त्रालयको संख्या घटाउने तयारी अघि बढाइएको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार मन्त्रालयको संख्या १५ देखि १८ भित्र सीमित गर्ने गृहकार्य भइरहेको छ। हाल २१ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ वटा संरचना रहेका छन्।

सरकारको योजना अनुसार कम्तिमा ५ वटा मन्त्रालय गाभ्ने तयारी गरिएको छ। खानेपानी, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयमा समायोजन गर्ने विषयमा छलफल भइरहेको छ। यस्तै, युवा तथा खेलकुद मन्त्रालयलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग गाभ्ने सम्भावना पनि अध्ययनमा छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पुनर्संरचना गर्ने प्रस्ताव अघि आएको छ। सामान्य प्रशासनलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने र संघीय मामिलालाई कानून मन्त्रालयमा गाभ्ने विकल्पमाथि छलफल भइरहेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शहरी विकास र खानेपानी मन्त्रालय गाभ्ने विषय पनि गृहकार्यमा रहेको स्रोतले जनाएको छ। मन्त्रालय संख्या घटाउने निर्णय मन्त्रिपरिषद्को बैठकबाट गर्नुपर्नेछ, जसका लागि कार्यविभाजन नियमावली संशोधन गर्नुपर्ने हुन्छ।

नयाँ सरकार गठनसँगै प्रशासनिक संरचना चुस्त बनाउने र खर्च घटाउने लक्ष्यसहित मन्त्रालय कटौतीको योजना अघि बढाइएको हो।

Leave a Comment