इन्धन मूल्यवृद्धि विरुद्ध उनेपाको कडा आपत्ति, सरकारलाई ६ बुँदे दबाब

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको वृद्धि विरुद्ध उज्यालो नेपाल पार्टी (उनेपा) ले सरकारको कदमप्रति कडा आपत्ति जनाउँदै तत्काल हस्तक्षेप गर्न माग गरेको छ।
पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठनपछि इन्धन बजारमा स्थिरता आउने अपेक्षा गरिएको भए पनि उल्टै मूल्य निरन्तर बढेको आरोप लगाएको छ।
उनेपाका अनुसार छोटो अवधिमै काठमाडौँमा पेट्रोलको मूल्य १८७ रुपैयाँबाट बढेर २१९ रुपैयाँ पुगेको छ भने डिजेल १६७ रुपैयाँबाट २३७ रुपैयाँ पुगेको छ। यसले पेट्रोलमा ३२ रुपैयाँ र डिजेलमा ७० रुपैयाँसम्म वृद्धि भएको देखिन्छ।
पार्टीले इन्धन मूल्यवृद्धिको असर पेट्रोल पम्पमै सीमित नरहने उल्लेख गर्दै यातायात, कृषि, उद्योग, व्यापारदेखि दैनिक उपभोग्य वस्तुसम्म व्यापक महँगी बढ्ने चेतावनी दिएको छ। एकपटक बढेको मूल्य पुनः नघट्ने प्रवृत्तिले दीर्घकालीन आर्थिक दबाब सिर्जना गर्ने पनि उनेपाको ठहर छ।
भारतको सीमावर्ती बजारसँग तुलना गर्दा नेपालमा पेट्रोल र डिजेल उल्लेख्य महँगो भएको भन्दै उनेपाले यस्तो मूल्य अन्तरले चोरीपैठारी र अवैध कारोबार बढाउने जोखिम औंल्याएको छ। साथै नेपाल आयल निगम ले घाटा देखाए पनि त्यसको सम्पूर्ण भार उपभोक्तामाथि थोपर्नु अन्यायपूर्ण भएको टिप्पणी गरेको छ।
६ बुँदे माग सार्वजनिक
उनेपाले इन्धन मूल्य घटाएर जनतालाई राहत दिन सरकारसमक्ष ६ बुँदे प्रस्ताव अघि सारेको छः
कर, भन्सार र विभिन्न शुल्क पुनरावलोकन गरी मूल्य घटाउने
मूल्य स्थिरीकरण कोष प्रयोग गरी तत्काल राहत दिने
नेपाल–भारत मूल्य अन्तर घटाउन विशेष संयन्त्र बनाउने
कालोबजारी र कार्टेलिङ नियन्त्रणका लागि संयुक्त अनुगमन
विद्युतीय ऊर्जा प्रयोगलाई प्रोत्साहन गरी पेट्रोलियम निर्भरता घटाउने
नेपाल आयल निगम को मूल्य निर्धारण प्रक्रिया पूर्ण पारदर्शी बनाउने
उनेपाले इन्धन मूल्यवृद्धि सामान्य प्रशासनिक निर्णय नभई जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै सरकारले कर समायोजन, सहुलियत र बजार नियन्त्रणका ठोस नीति तत्काल लागू नगरे देशमा महँगी र जनअसन्तोष थप चुलिने चेतावनी दिएको छ।

Leave a Comment