कलैया नगरप्रहरी प्रकरण : माफीसँगै सुधारको प्रतिबद्धता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, कलैया-कलैया नगरप्रहरीले व्यापारीमाथि गरेको दुर्व्यवहार सम्बन्धी प्रकरणमा सकारात्मक मोड आएको छ। घटनापछि नगरप्रमुख विनोद साहसहित सम्बन्धित नगरप्रहरीले सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नगरप्रमुख साहले नगरप्रहरीबाट गल्ती भएको स्वीकार गर्दै पीडित परिवारसँग क्षमा याचना गरेका हुन्। उनले अब यस्ता घटना दोहोरिन नदिन नगरप्रहरीलाई थप अनुशासित र जिम्मेवार बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। साथै, पीडित परिवारले मिलापत्रको भावना देखाएकोमा धन्यवाद व्यक्त गर्दै आपसी समझदारीलाई प्राथमिकता दिइएको बताए।
यस घटनामा संलग्न नगरप्रहरीका किरण साह, मुकेश पटेल र विजय यादवले पनि आफ्नो व्यवहारप्रति आत्मालोचना गर्दै माफी मागेका छन्। उनीहरूले भविष्यमा सेवामुखी र संवेदनशील ढंगले काम गर्ने प्रतिवद्धता जनाएका छन्।
घटनापछि दुवै पक्षबीच संवाद र सहमतिको वातावरण बनेको छ। पीडित पक्षले पनि नगरप्रमुख स्वयंले माफी मागेपछि मुद्दा प्रक्रियालाई अघि नबढाई मिलापत्र गर्ने निर्णय गरेको जनाएको छ।
स्थानीय स्तरमा यस घटनालाई आत्मसुधार र सहकार्यको उदाहरणका रूपमा हेरिएको छ, जसले आगामी दिनमा जनप्रतिनिधि र सुरक्षाकर्मीबीच थप जिम्मेवारी र विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

Leave a Comment