मनिषाको धारिलो बलिङमा नेपालद्वारा रुवान्डा पराजित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ । आइसीसी महिला टी–ट्वान्टी च्यालेन्ज ट्रफी अन्तर्गत मंगलबार भएको खेलमा नेपालले रुवान्डामाथि प्रभावशाली जित दर्ता गरेको छ। किगालीस्थित गहङ्गा क्रिकेट मैदानमा भएको खेलमा नेपालले रुवान्डालाई ३८ रनले हराएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा १०३ रन जोड्दै रुवान्डासामु १०४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका लागि कप्तान इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ३३ रन बनाइन्। कविता कुँवरले २४ तथा रूविना क्षेत्रीले ११ रनको योगदान दिइन्।
जवाफमा लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा मात्र ६४ रनमा समेटियो। नेपालको जितमा मनिषा उपाध्याय नायिका बनिन्। उनले चार ओभरमा एक मेडन राख्दै मात्र १० रन खर्चिएर ३ विकेट लिइन्। त्यस्तै, कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान २–२ विकेट हात पारे।
यो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो तेस्रो जित निकालेको छ। हालसम्म ६ खेल खेलेको नेपाल ३ जितसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
यसअघि नेपालले अमेरिकासँग दुवै खेलमा हार व्यहोरेको थियो भने इटाली र रुवान्डाविरुद्ध जित हात पारेको थियो। भानुआटुसँग भने नेपाल पराजित भएको थियो।
डबल राउण्ड रोबिन लिग ढाँचामा भइरहेको प्रतियोगितामा अन्त्यमा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

Leave a Comment