काठमाडौं । एसिया कप छनोटका रूपमा भइरहेको एसीसी प्रिमियर कप–२०२६ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगितामा नेपाल र बहराइन पहिलोपटक ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने हुन लागेका हुन्।
खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ। तुलनात्मक रूपमा बहराइनलाई कमजोर टोली मानिएकाले नेपालले प्रतियोगिताको सुरुवात जितबाट गर्ने अपेक्षा गरिएको छ। नेपाललाई भने प्रतियोगिताको उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।
नेपाल समूह ‘ए’ मा आयोजक मलेसिया, साउदी अरेबिया, हङकङ र बहराइनसँगै छ। समूह ‘बी’ मा ओमान, सिंगापुर, कुवेत, कतार र यूएई रहेका छन्। प्रतियोगिताका १० टोलीमध्ये च्याम्पियन बन्ने टोलीले एसिया कपमा स्थान बनाउनेछ।
नेपालले यसअघि सन् २०२३ मा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो। तर पछिल्लो संस्करणको फाइनलमा यूएईसँग पराजित भएपछि नेपाल दोस्रोपटक एसिया कप खेल्ने अवसरबाट चुकेको थियो।
यसपटक प्रतियोगिताका लागि नेपालले लामो तयारी गरेको छ। टोलीले भारतको बेङ्गलुरुमा करिब १० दिन प्रशिक्षण गर्दै कर्नाटकको टोलीसँग दुई अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो। त्यसपछि मलेसियामा पाँच दिनको प्रशिक्षण शिविरसँगै घरेलु टोलीविरुद्धको दुई खेलको एकदिवसीय शृङ्खला क्लिन स्वीप गरेको थियो।
नवनियुक्त कप्तान सन्दीपले पनि टोलीको मुख्य लक्ष्य उपाधि जित्दै नेपाललाई एसिया कपमा पुर्याउनु रहेको बताएका छन्। उनले टोलीले ट्रफी नेपाल ल्याउन सक्दो प्रयास गर्ने बताएका छन्।
सन् २०२७ मा बङ्गलादेशमा हुने एसिया कपका लागि आयोजक बङ्गलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानले स्थान पक्का गरिसकेका छन्।
सन्दीपको कप्तानीमा नेपालको टोली : आसिफ शेख, अर्जुन कुमाल, रोहित, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्सन झा, हेमन्त धामी, सन्दीप जोरा र सन्दीप।

