काठमाडौं, १७ वैशाख । सरकारले संसद् स्थगित रहेको अवस्थामा एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल परामर्शमा जुटेका छन्।
राष्ट्रपतिले आज दिउँसो ४ बजे शीतल निवास मा संविधानविद् तथा कानुनविद्हरूसँग छलफल गर्ने कार्यक्रम तय गरेका छन्। अध्यादेश सम्बन्धी संवैधानिक तथा कानुनी पक्षबारे स्पष्ट धारणा बनाउन उनले यस्तो परामर्श गर्न लागेका हुन्।
सरकारले सार्वजनिक निकायमा नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने, दलीय प्रभाव घटाउने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारी पीडितको बचत फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ वटा अध्यादेश सिफारिस गरेको छ।
यीमध्ये संवैधानिक परिषद्सम्बन्धी व्यवस्थाले विशेष विवाद सिर्जना गरेको छ। प्रस्तावित अध्यादेशमा परिषद्का ६ सदस्य मध्ये ३ जनाले मात्रै निर्णय गर्न सक्ने व्यवस्था राखिएको छ। यसअघि यही प्रावधानलाई राष्ट्रपति पौडेलले लोकतान्त्रिक मान्यतासँग मेल नखाने भन्दै विधेयक पुनर्विचारका लागि फिर्ता पठाएका थिए।
त्यसैले, समान प्रकृतिको व्यवस्था पुनः अध्यादेशमार्फत आएको अवस्थामा राष्ट्रपतिले यसबारे कानुनविद्हरूसँग राय लिएर अगाडि बढ्ने तयारी गरेका हुन्।
राष्ट्रपतिद्वारा अध्यादेशबारे कानुनविद्सँग परामर्श
Leave a Comment
Leave a Comment

