चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १७ वैशाख । देशभर मौसममा बदली भई वर्षाको सक्रियता बढ्ने संकेत देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार पश्चिमी वायु र स्थानीय प्रणालीसँगै पूर्वी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले अधिकांश स्थानमा मौसम बदली भएको छ।
हाल बागमती प्रदेश र गण्डकी प्रदेश का धेरै ठाउँमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश का केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ। मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश का एक–दुई स्थानमा पनि समान प्रकृतिको वर्षा देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोशी र मधेश प्रदेशका साथै पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली रहने र पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने बताइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना यथावत् रहने महाशाखाले जनाएको छ।
मौसमविद्हरूले मेघगर्जन र चट्याङका कारण हुन सक्ने जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Leave a Comment