१३ पुस, काठमाडौं।
बंगलादेशमा एक हिन्दू युवकको हत्या भएको घटनाको विरोधमा मधेश प्रदेशका जनकपुरधाम र वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न र अल्पसंख्यक समुदायको सुरक्षामा ध्यान दिन बंगलादेश सरकारसँग माग गरेका छन्।
शुक्रबार जनकपुरधाममा महिला अभियानी जनकपुरधामको आयोजनामा तथा नेत्री विभा ठाकुरको नेतृत्वमा प्रदर्शन गरिएको हो। बंगलादेशमा दीपुचन्द्र दासको हत्या भएको भन्दै सहभागीहरूले न्यायको माग गर्दै सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा ‘हिन्दू हत्या बन्द गर’, ‘दीपुचन्द्र दासका हत्यारालाई फाँसी दे’, ‘बंगलादेश सरकार मुर्दावाद’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरिएको थियो।
यस्तै, शनिबार वीरगञ्जमा पनि हत्याविरुद्ध विरोध प्रदर्शन भएको छ। जमिअत उलेमा–ए नेपालका बारा र पर्सा जिल्ला समितिको आयोजनामा भएको र्याली उपाध्यक्ष मौलाना अलि असगर मदानीको नेतृत्वमा निकालिएको थियो। उक्त प्रदर्शनमा मुस्लिम समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वीरगञ्जको र्यालीमा सहभागीहरूले ‘हिन्दू–मुस्लिम एकता जिन्दावाद’, ‘बंगलादेशमा हिन्दूको हत्या बन्द गर’ र ‘हत्यारालाई कडा सजाय दे’ लगायतका नारा लगाएका थिए। प्रदर्शनकारीहरूले साम्प्रदायिक हिंसाविरुद्ध सबै समुदाय एकजुट हुनुपर्ने सन्देशसमेत दिएका छन्।
प्रदर्शनमा सहभागी वक्ताहरूले कुनै पनि देशमा धर्म वा पहिचानका आधारमा हुने हिंसा अस्वीकार्य भएको बताउँदै मानवअधिकार र अल्पसंख्यक सुरक्षाको प्रत्याभूति गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्।
बंगलादेशमा भएको उक्त घटनाले नेपालका विभिन्न स्थानमा चिन्ता र आक्रोश बढाएको देखिएको छ भने प्रदर्शनहरू शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन्।

