इरानको १४ बुँदे प्रस्ताव सार्वजनिक, ट्रम्पले जनाए अविश्वास

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, वैशाख २० — इरान ले क्षेत्रीय द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित १४ बुँदे नयाँ प्रस्ताव अघि सारेको छ। उक्त प्रस्तावमा विशेष गरी मध्यपूर्व क्षेत्रमा जारी तनाव कम गर्दै युद्ध रोक्ने पहल गरिएको जनाइएको छ।
इरानले आफ्नो प्रस्तावमा सैन्य आक्रमण नहुने सुनिश्चितता, आफ्ना रोक्का गरिएका सम्पत्तिको रिहाइ, आर्थिक प्रतिबन्ध हटाउने तथा आफ्नो वरपरबाट संयुक्त राज्य अमेरिका का सेना फिर्ता गर्नुपर्ने जस्ता सर्तहरू अघि सारेको छ। साथै, लेबनानलगायतका सबै मोर्चामा युद्ध अन्त्य गर्न आह्वान गरिएको छ।
यस प्रस्तावलाई डोनाल्ड ट्रम्प ले सावधानीपूर्वक लिएका छन्। उनले प्रस्तावबारे समीक्षा गर्ने बताए पनि प्रारम्भिक रूपमा आफू विश्वस्त नरहेको संकेत दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले इरानको प्रस्ताव स्वीकार्य हुनेमा शंका व्यक्त गरेका छन्।
इरान र अमेरिकाबीच युद्धविरामको समयसीमामा पनि मतभेद देखिएको छ। अमेरिकाले दुई महिनाको अवधिको प्रस्ताव अघि सारेको छ भने इरानले ३० दिनभित्रै समस्या समाधान गर्नुपर्ने अडान राखेको छ।
यसैबीच, लेबनान मा घोषित युद्धविरामका बाबजुद हिजबुल्लाह र इजरायली सेना बीच झडप जारी रहेको छ। अर्कोतर्फ, अमेरिकाले क्षेत्रीय सहयोगीहरूलाई अर्बौँ डलरको हतियार बिक्री प्रक्रिया अगाडि बढाएको छ।
इरानको प्रस्तावले कूटनीतिक समाधानतर्फ ढोका खोल्ने कि तनाव झन् बढाउने भन्ने विषय अब अमेरिकाको आगामी निर्णयमा निर्भर रहने देखिएको छ।

Leave a Comment