काठमाडौं, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारी तीव्र बनाएको छ। पार्टीको केन्द्रीय समिति बैठकले विभिन्न १३ विभागका प्रमुख तथा केही उपप्रमुख तोक्नुका साथै स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ।
शनिबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको हो।
समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कवीन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्य छन्। पार्टीका सातै प्रदेशका सभापति समितिका पदेन सदस्य रहने व्यवस्था गरिएको छ।
बैठकले प्रवास सम्पर्क विभागको प्रमुखमा मनीष झा, आर्थिक व्यवस्थापनमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालनमा मोहनलाल आचार्य र सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशितामा रुविना आचार्यलाई जिम्मेवारी दिएको छ।
त्यस्तै, सुशासन तथा राज्य व्यवस्था विभागको प्रमुखमा सुदीप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणालीमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारीमा ज्ञानेन्द्र महता र श्रम, रोजगारी तथा सामाजिक सुरक्षामा दीपककुमार साह (महोत्तरी)लाई चयन गरिएको छ।
आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागको प्रमुख शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुख आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको प्रमुख डा. धनञ्जय रेग्मी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागको प्रमुख धर्म केसी र सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागको प्रमुखमा रिमा विश्वकर्मा तोकिएका छन्।
संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा सम्राट बुढाथोकीलाई सदस्यसमेत मनोनयन गरिएको छ। अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र तथा अर्थ विभागको उपप्रमुखमा डिल्लिश्वर कार्की (रोहन)लाई जिम्मेवारी दिइएको छ।
७७ जिल्लाका ७५३ पालिकामा ‘हामी आउँदै छौँ’ अभियान
रास्वपाले असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरू ७७ जिल्लाका ७५३ पालिकासम्म पुगेर स्थानीय जनता, पार्टीका नेता–कार्यकर्ता तथा सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नेछन्।
त्यस क्रममा स्थानीय आवश्यकता, समस्या र सुझाव संकलन गरिने पार्टीले जनाएको छ। बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अभियानमा अनिवार्य रूपमा परिचालित हुन निर्देशन दिएको छ।
यसैबीच, रास्वपा मधेश प्रदेशको संगठनमा देखिएका समस्या र समाधानका उपायबारे सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएको छ। प्रतिवेदन अध्ययनपछि आवश्यक निर्णय लिने पार्टीले जनाएको छ।
बैठकले पार्टीको केन्द्रीय कार्यालयका लागि काठमाडौं उपत्यकामा उपयुक्त स्थानमा जमिन वा घर खरिद गर्ने विषयमा पनि छलफल गरेको छ। त्यसका लागि पार्टीका सदस्य तथा शुभेच्छुकलाई उपयुक्त जमिन वा घर खोज्न सहयोग गर्न आग्रह गरिएको छ।
बैठकले विजयादशमी, दीपावली, नेपाल संवत्को नयाँ वर्ष तथा छठ पर्वका अवसरमा नेपाली नागरिकलाई शुभकामना व्यक्त गर्ने निर्णयसमेत गरेको छ।

