संघीय संरचनामा फेरबदल : ४ मन्त्रालय खारेज, नयाँ ढाँचाको खाका आज प्रस्तुत हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, वैशाख २१ — सरकारले संघीय संरचनामा व्यापक फेरबदलको तयारी गर्दै आज बस्ने मन्त्रिपरिषद् बैठकमा मन्त्रालय गाभ्ने र खारेज गर्ने सम्बन्धी विस्तृत खाका पेस गर्ने भएको छ।
बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा प्रशासनिक पुनर्संरचना मुख्य एजेन्डाका रूपमा रहनेछ। स्रोतका अनुसार केही मन्त्रालय खारेज गर्ने, केहीलाई गाभ्ने र नयाँ नामसहित पुनर्गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
सरकारले प्रारम्भिक रूपमा चार मन्त्रालय खारेज गर्ने तथा करिब ६ मन्त्रालयको नाम र संरचना परिवर्तन गर्ने योजना अघि बढाएको छ। यससँगै केही महत्वपूर्ण क्षेत्रहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने तयारी समेत गरिएको छ।
प्रस्तावित नयाँ संरचना
सरकारको तयारी अनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज हुनेछन्।
खेलकुद क्षेत्रलाई शिक्षा मन्त्रालयमा गाभेर ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाउने प्रस्ताव छ भने युवासम्बन्धी विषयलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षासँग समेटेर ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ गठन गर्ने योजना छ।
त्यस्तै, सरसफाइ क्षेत्रलाई स्वास्थ्य मन्त्रालयमा गाभ्ने तथा खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधारसँग एकीकृत गरी ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाइनेछ।
यातायात क्षेत्रलाई भौतिक पूर्वाधारबाट अलग गरी श्रम क्षेत्रसँग जोड्ने आन्तरिक तयारी पनि भइरहेको स्रोतले जनाएको छ।
यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने तथा विभिन्न मन्त्रालयबाट केही विषयगत क्षेत्रहरू छुट्याएर सोही कार्यालय अन्तर्गत ल्याउने योजना रहेको छ।
मन्त्रालय संख्या १७ मा सीमित गर्ने लक्ष्य
सरकारले संघीय मन्त्रालयको संख्या १७ वटामा झार्ने लक्ष्य राखेको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले सिफारिस गरेको थियो।
सरकारको सय दिने प्रशासनिक सुधार योजनाअनुसार मन्त्रालय संख्या घटाउने प्रतिबद्धता कार्यान्वयनका क्रममा यो प्रस्ताव अघि बढाइएको हो।

Leave a Comment