रोल्पामा पहिरोको कहर : ३ जनाको मृत्यु, ९ जना अझै सम्पर्कविहीन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। पहिरोमा परेका नौ जना अझै फेला परेका छैनन् भने दुई जनालाई उद्धार गरिएको छ।
पहिरोले बोटलबारा क्षेत्रमा रहेका ६ वटा घर तथा गोठ पुरेको प्रहरीले जनाएको छ। रातिको समयमा घरमाथिबाट पहिरो खसेपछि ठूलो क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घटनामा ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुनमगर र ७१ वर्षीया मनरखी पुनमगरले ज्यान गुमाएका छन्।
यस्तै, पहिरोमा परी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी थप उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर बेपत्ता छन्।
प्रहरीका अनुसार पहिरोमा सुरुमा १० जना बेपत्ता भएका थिए। तीमध्ये एक जनाको शव फेला परिसकेको र अब नौ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुले जानकारी दिए।
बेपत्ताको खोजीका लागि प्रहरी टोलीसँगै स्थानीय बासिन्दासमेत परिचालित छन्। प्रतिकूल परिस्थितिका बीच पनि उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

Leave a Comment