काठमाडौं, वैशाख २२ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो वा फोटो खिच्न कुनै रोकटोक नभएको स्पष्ट पारेको छ।
सोमबार सिंहदरबारमा रिपोर्टिङ गरिरहेका पत्रकारलाई रोक्न निर्देशन दिइएको भन्ने समाचार सार्वजनिक भएपछि सचिवालयले औपचारिक प्रतिक्रिया दिएको हो। प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल ले जारी गरेको प्रेस नोटमा उक्त विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री शाहले कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनको अत्यधिक भीड देखेपछि त्यसको व्यवस्थापन र सुरक्षा अवस्थाबारे सुरक्षाकर्मीसँग सामान्य चासो राखेका थिए। उक्त जिज्ञासा केवल व्यवस्थापनसँग सम्बन्धित रहेको र सञ्चारकर्मीलाई कामबाट रोक्ने उद्देश्य नभएको स्पष्ट पारिएको छ।
प्रेस नोटमा भनिएको छ कि प्रधानमन्त्रीले पत्रकारलाई भिडियो खिच्न नदिन कुनै निर्देशन दिएका छैनन्। तर, पछि केही सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीलाई हट्न भनेको गुनासो आएको स्वीकार गर्दै सचिवालयले तत्काल सम्बन्धित निकायसँग समन्वय गरी पत्रकारको पहुँचमा कुनै कटौती नभएको सुनिश्चित गरिएको जनाएको छ।
सचिवालयले जहाँ पत्रकारलाई रिपोर्टिङका लागि अनुमति छ, त्यहाँ अवरोध नरहेको र भविष्यमा पनि नहुने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सामान्य विषयलाई प्रेसमाथिको अंकुशका रूपमा अतिरञ्जित नगर्न आग्रह गरिएको छ।
सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रसँग सहकार्य, पारदर्शिता र सुमधुर सम्बन्ध कायम राख्ने प्रतिवद्धता पनि दोहोर्याइएको छ।
सञ्चारकर्मीलाई रोकिएको भन्ने खबरप्रति प्रधानमन्त्री सचिवालयको स्पष्टीकरण
Leave a Comment
Leave a Comment

