काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन्। छिटो नतिजा निकाल्ने नाममा मूल्यांकन प्रक्रियामा लापरबाही भएको आरोप लगाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।
विद्यार्थीहरूले आफूहरूले परीक्षामा राम्रो लेखे पनि अपेक्षाअनुसार अंक र ग्रेड नआएको गुनासो गरेका छन्। उनीहरूले उत्तरपुस्तिकाको पुनः परीक्षण गर्नुपर्ने माग राखेका छन्।
प्रदर्शनमा सहभागी विद्यार्थी रञ्जित कार्कीले परीक्षा लेखाइअनुसार अंक नआएको दाबी गर्दै एक महिनामै नतिजा सार्वजनिक गर्ने प्रक्रियामाथि प्रश्न उठाए। उनका अनुसार हतारमा गरिएको मूल्यांकनले विद्यार्थीको भविष्य प्रभावित भएको छ।
“छिटो रिजल्ट निकाल्ने नाममा विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइँदैन। पुनः परीक्षण निष्पक्ष र निःशुल्क हुनुपर्छ,” उनले भने।
अर्की विद्यार्थी स्मृति खतिवडाले पनि नतिजाप्रति धेरै विद्यार्थी असन्तुष्ट रहेको बताइन्। केवल पुनःयोग गरेर मात्र समस्या समाधान नहुने भन्दै उनले उत्तरपुस्तिका नै पुनः जाँच गर्नुपर्ने माग गरिन्।
विद्यार्थीहरूले परीक्षा बोर्डको त्रुटिका कारण आफूहरूलाई थप आर्थिक भार नथोपर्न आग्रह गरेका छन्। उनीहरूले गलत नतिजाले विद्यार्थीको मेहनत र भविष्यमा असर परेको भन्दै जिम्मेवार निकायले जवाफ दिनुपर्ने बताएका छन्।
प्रदर्शनकारीहरूले “१२ वर्षको मेहनत खेर गयो, जिम्मेवार को?”, “हाम्रो भविष्य बर्बाद भयो, न्याय चाहियो” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
एक महिनामै नतिजा निकाल्ने हतारले विद्यार्थीमाथि अन्याय भएको आरोप
Leave a Comment
Leave a Comment






