काठमाडौं, वैशाख २२ — आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
नेपाली टोलीका कप्तान रोहित पौडेल ले टस जितेपछि रन बनाउने लक्ष्यसहित ब्याटिङ रोजेका हुन्। घरेलु मैदानको फाइदा उठाउँदै बलियो सुरुवात गर्ने नेपालको योजना देखिएको छ।
जारी त्रिदेशीय शृङ्खलामा नेपालले युएईविरुद्धका दुवै खेल जित्दै आत्मविश्वास बढाएको छ। तर, ओमानसँगको पहिलो भेटमा भने पराजित भएको थियो। त्यसैले आजको खेल नेपालका लागि बदला लिने अवसरका रूपमा पनि हेरिएको छ।
ओमानको प्रदर्शन पनि मिश्रित रहँदै आएको छ। उसले युएईसँग दुबै खेल गुमाए पनि नेपाललाई भने पहिलो खेलमा हराएको थियो।
अंक तालिकातर्फ नेपाल २३ खेलबाट १६ अंकसहित सातौँ स्थानमा छ भने ओमान २७ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा रहेको छ। एकदिवसीय इतिहासमा दुवै टोलीबीच भएका ८ भेटमा ओमानले ५ जित निकालेको छ भने नेपालले ३ खेल जितेको छ।
आजको खेल जित्दै शृङ्खलाको सुखद अन्त्य गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिएको छ।
लिग–२ अन्तिम खेल : ओमानविरुद्ध नेपालले टस जित्दै पहिले ब्याटिङ रोज्यो
Leave a Comment
Leave a Comment

