कोसी प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर बुधबार चर्को विवाद भएको छ। विपक्षी दलका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न नदिएको भन्दै सदनमा नाराबाजी गरेका हुन्।
विरोधका क्रममा नेकपाका सांसदहरूले रोस्टम घेराउ गरेका थिए। त्यसक्रममा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई रोस्टममै पुगेर माइक भाँचिदिएका थिए। घटनापछि सभामुख अम्बरबहादुर विष्ट आक्रोशित बनेका थिए।
प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ ७ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार दिएका थिए। त्यसपछि सभामुखले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।
विपक्षी दलका सांसदहरूले आफूहरूलाई संशोधन हाल्न समय नदिएको आरोप लगाएका छन्। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले १७ जना सांसदले असन्तुष्टि राख्दा पनि संशोधन प्रस्ताव दर्ता गर्न नदिइएको बताएका थिए।
सभामुखले जसपाकी नेतृ निर्मला तावा लिम्बूलाई बोल्न समय दिएलगत्तै विपक्षी सांसदहरूले फेरि नाराबाजी गर्दै सदन अवरुद्ध पारेका थिए। सत्ता पक्षीय सांसदहरूले भने कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति विपक्षी दल आफैँले उल्लंघन गरेको आरोप लगाएका छन्।
लामो समयसम्मको विवाद र तनावपछि प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ।
कोसी प्रदेश सभा तनावग्रस्त, नाराबाजीबीच पूर्वमुख्यमन्त्रीले भाँचे माइक
Leave a Comment
Leave a Comment






