बुटवलमा सुकुम्बासीको चेतावनी : ‘डोजर चल्यो भने देशव्यापी आन्दोलन’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बुटवल-सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने सरकारी कदमको विरोधमा रुपन्देहीका भूमिहीन नागरिकहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
वन कार्यालय र स्थानीय प्रशासनले बस्ती खाली गराउन थालेपछि आक्रोशित बनेका उनीहरूले बिहीबार बुटवलमा प्रदर्शन गर्दै जबर्जस्ती डोजर प्रयोग गरिए कडा प्रतिरोधमा उत्रिने घोषणा गरेका हुन्। उनीहरूको भनाइमा आफूहरू दशकौँदेखि बसोबास गर्दै आएको स्थानबाट हटाउन खोजिनु अन्यायपूर्ण कदम हो।
प्रदर्शनमा सहभागी नेकपा माओवादी केन्द्र निकट युवा नेता वीरेन्द्र विकले राज्यको दोहोरो व्यवहारप्रति असन्तुष्टि जनाए। “कर तिर्ने, मतदान गर्ने हामी नागरिक नै हौँ, तर बसोबासलाई अवैध भन्नु स्वीकार्य छैन,” उनले भने।
उनले विगतमा विभिन्न माध्यमबाट जग्गा वितरण गरिएको स्मरण गराउँदै एउटै देशका नागरिकलाई फरक व्यवहार गर्न नहुने बताए। “यदि हाम्रो बसोबास अवैध हो भने हामीले दिएको मतबाट बनेको सरकार कसरी वैध हुन्छ?” उनले प्रश्न गरे।
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीका संयोजक खड्गबहादुर पौडेलले कुनै पनि बस्तीमा डोजर चलाइए देशभरका सुकुम्बासी एकजुट भएर आन्दोलन गर्ने चेतावनी दिए। आवश्यक परे स्थानीय जनप्रतिनिधिहरूको घर घेराउ गर्ने र आन्दोलन अझ सशक्त बनाउने उनको भनाइ छ।
आन्दोलनकारीहरूले रुपन्देहीमा मात्रै करिब ७९ हजारभन्दा बढी अव्यवस्थित बसोबासी रहेको तथ्यांक प्रस्तुत गर्दै आवश्यक परे डेढ लाख मानिस सडकमा उतार्न सकिने दाबी गरेका छन्।
दशकौँदेखि बसोबास गर्दै आएको, विद्युत् र खानेपानी जस्ता सेवा शुल्क तथा कर तिर्दै आएको उल्लेख गर्दै उनीहरूले लालपुर्जा पाउनु आफ्नो अधिकार भएको बताएका छन्।
साथै, निर्वाचनका बेला आश्वासन दिने तर अहिले बस्ती हटाउन खोजिएको भन्दै प्रमुख राजनीतिक दल र स्थानीय सरकारप्रति पनि उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

Leave a Comment