रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।
मंगलबार नदीमा नुहाउने क्रममा बेपत्ता भएका देवाही गोनाही नगरपालिका–१ करुनियाका १० वर्षीय मोहम्मद रमतुला र सोही ठाउँकी १० वर्षीया सबनम खातुनको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार रमतुलाको शव घटनास्थलबाट करिब ५ किलोमिटर दक्षिणतर्फ तथा सबनमको शव करिब ५.२ किलोमिटर दक्षिण लालबकैया नदीको किनारमा फेला परेको हो।
दुवै शव अस्थायी प्रहरी पोस्ट जिंगडवाबाट प्रहरी सहायक निरीक्षक लालबाबु सहनीको नेतृत्वमा खटिएको टोलीले फेला पारेको प्रहरीले जनाएको छ।
शवको कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।
घटनामा बेपत्ता भएका अर्की १० वर्षीया रौशन खातुन भने अझै फेला परेकी छैनन्। उनको खोजी कार्य जारी रहेको डीएसपी गौतमले जानकारी दिएका छन्।

