न्याय सम्पादनमा गति ल्याउन डा. मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस : प्रधानमन्त्री बालेन्द्र शाह

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले न्याय सम्पादनमा गति ल्याउन सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको संवैधानिक परिषद्को बैठकले डा. शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि सिफारिस गर्ने निर्णय गरेको हो। परिषद्को निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्रीको सचिवालयले न्यायालयमा थुप्रिँदै गएको मुद्दाको चाप कम गर्न सक्ने नेतृत्वको खोजी भइरहेको अवस्थामा उक्त निर्णय गरिएको जनाएको छ।
सचिवालयका अनुसार न्यायपालिकाको इतिहासमै विद्यावारिधि गर्ने न्यायाधीशका रूपमा चिनिएका डा. शर्माले कार्यसम्पादनका आधारमा आफूलाई अग्रपंक्तिमा स्थापित गरेका छन्। सर्वोच्च अदालतको तथ्याङ्कअनुसार उनले हालसम्म ७ हजार ३ सय ८८ मुद्दा तथा निवेदनहरूको अन्तिम टुङ्गो लगाइसकेका छन्, जुन प्रस्तावित न्यायाधीशहरूमध्ये सबैभन्दा उच्च हो।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा मात्रै उनले २ हजार १ सय ८१ मुद्दा किनारा लगाएका थिए। प्रस्तावित न्यायाधीशहरूमध्ये ७ हजारभन्दा बढी मुद्दा फर्छ्यौट गर्ने उनी एक्ला न्यायाधीश रहेको सचिवालयको दाबी छ।
न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६–२०८१) अन्तर्गत गरिएको कार्यसम्पादन मूल्याङ्कनमा पनि डा. शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा उल्लेखनीय रूपमा अगाडि देखिएको जनाइएको छ।
प्रधानमन्त्री शाहले न्यायालयको प्रभावकारिता वृद्धि, मुद्दा फर्छ्यौटमा तीव्रता तथा नागरिकलाई छिटो न्याय दिलाउने लक्ष्यसहित डा. शर्मालाई नेतृत्वको जिम्मेवारी सुम्पन सिफारिस गरिएको बताएका छन्।

Leave a Comment