काठमाडौं, २३ पुस
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा उम्मेदवारी दिने विषयमा आफूले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्।
बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति संकेत गर्दै आफू निर्वाचनमा उठ्ने वा नउठ्ने भन्नेबारे मौन रहेको बताए। साथै, कुनै पनि राजनीतिक दलसँग आफ्नो औपचारिक वा अनौपचारिक संवाद नभएको उनको दाबी छ।
उनले भने, “मैले आजसम्म न चुनावमा उठ्ने निर्णय गरेको छु, न कुनै पार्टीमा प्रवेश गरेको छु। न त कसैसँग वार्ता वा छलफल नै भएको छ।”
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने चर्चा चलिरहेका बेला मन्त्री खरेलले त्यस्ता अड्कललाई अस्वीकार गर्दै हाल आफ्नो सम्पूर्ण ध्यान निर्वाचन सम्पन्न गराउने जिम्मेवारीमा केन्द्रित रहेको बताए।
“अन्तरिम सरकारका सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारले निष्पक्ष र समयमै चुनाव सम्पन्न गराउनेतर्फ ध्यान केन्द्रित गरेको छ, र म स्वयं पनि त्यसैमा केन्द्रित छु,” उनले स्पष्ट गरे।
मन्त्री खरेलले सञ्चारमाध्यमहरूमा तथ्यविपरीत समाचार आएको भन्दै असन्तुष्टि जनाए पनि त्यसप्रति आपत्ति भने नरहेको बताए। तर सही तथ्य सार्वजनिक गर्न आवश्यक रहेको उनको भनाइ थियो।
“आजको मितिसम्म म कुनै पार्टीमा गएको छैन, चुनाव उठ्छु वा उठ्दिन केही पनि भनेको छैन। त्यसैले सही समाचार यही हो,” उनले जोड दिए।

