काठमाडौं । नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित विशेष भेला आयोजना गर्दैछ। पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापा धनगढी पुग्ने कार्यक्रम रहेको छ।
भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे यसअघि नै धनगढी पुगिसकेका छन्। विशेष महाधिवेशनपछि पार्टी नेतृत्वले पूर्वसभापति शेरबहादुर देउवा को गृहप्रदेशबाट संगठन सुदृढीकरण अभियान सुरु गर्न लागेको हो।
पार्टीका सहमहामन्त्री प्रकाश रसाइली स्नेही ले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिको कार्यसम्पादन तथा प्रदेशस्तरको संगठन विस्तारबारे विस्तृत छलफल हुनेछ।
भेलामा प्रदेश कार्यसमिति, जिल्ला सभापति, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि तथा विभिन्न तहका पार्टी सभापतिहरूलाई सहभागी गराइने भएको छ। कांग्रेसले सहभागीका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ दर्ता शुल्कसमेत निर्धारण गरेको छ।
कार्यक्रमको व्यवस्थापन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले गर्नेछ भने स्थानीय संयोजन कैलाली जिल्ला कार्यसमितिले गर्ने बताइएको छ। कैलालीका कार्यवाहक सभापति खेमराज डगौरा थारुले जिल्लाभरका क्षेत्रीय सभापतिलाई सहभागिताका लागि पत्राचार गरिसकेका छन्।
भेलाको उद्घाटन सभापति थापाले गर्नेछन्। उद्घाटनपछि सुदूरपश्चिमका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको रिपोर्टिङ प्रस्तुत गरिने कार्यक्रम तय भएको छ। त्यसपछि केन्द्रीय नेताहरूले पार्टीको भावी रणनीति र संगठन विस्तारबारे धारणा राख्नेछन्।
भोलि हुने दोस्रो चरणको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि तथा नीति आयोगका सदस्यहरूलाई प्रशिक्षण दिइनेछ। प्रशिक्षण सत्रको नेतृत्व उपसभापति विश्वप्रकाश शर्माले गर्ने कार्यक्रम छ।
सुदूरपश्चिममा कांग्रेसको शक्ति परीक्षण आज, गगन थापाको नेतृत्वमा प्रदेशस्तरीय भेला
Leave a Comment
Leave a Comment





