प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभएको विषयलाई लिएर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा लगातार विरोध जनाइरहेको छ।
बुधबारको बैठकमा पनि पार्टीका सांसदहरूले पर्चा र नारासहित सरकारमाथि दबाब बढाएका हुन्।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले “सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ”, “प्रधानमन्त्रीले जवाफ दिनुपर्छ” लगायतका नारा लेखिएका पर्चा प्रदर्शन गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले संसद्को मर्यादा र नियमावली पालना गर्न पटक–पटक आग्रह गरे पनि सांसदहरू आफ्ना मागबाट पछि हटेनन्।
बैठकका क्रममा सञ्चारमन्त्री विक्रम तिमिल्सिना र श्रममन्त्री रामजी यादवले सांसदहरूले उठाएका विषयमा जवाफ दिएका थिए। तर श्रम संस्कृति पार्टीका सांसदहरूले थप प्रश्न राख्न खोजेपछि सभामुखले नियमावलीमा त्यस्तो व्यवस्था नरहेको बताएका थिए। त्यसपछि केहीबेर संसद्मा सवाल–जवाफ र विवादको अवस्था सिर्जना भएको थियो।
हर्क साम्पाङले संसद्मा बोल्न रोक लगाउन खोजिएको भन्दै प्रतिपक्षलाई प्रश्न सोध्ने अधिकार हुनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री स्वयंले गृह मन्त्रालय सम्हालिरहेकाले सुकुम्वासी व्यवस्थापन, वैदेशिक ऋण, सीमा विवाद लगायतका विषयमा संसद्मा आएर जवाफ दिनुपर्ने माग गरे।
सभामुख अर्यालले भने संसद् सञ्चालन नियमावलीको नियम २० र २१ अनुसार मर्यादाविपरीत गतिविधि नगर्न चेतावनी दिएका छन्। लगातार पर्चा प्रदर्शन, समय नलिई बोल्ने र नाराबाजी गर्ने गतिविधिले संसद्को अनुशासन प्रभावित भएको उनको भनाइ छ।
यद्यपि श्रम संस्कृति पार्टीले भने आफ्नो विरोध नरोकिने स्पष्ट पारेको छ। “जनताका प्रश्न उठाउँदा निलम्बन नै हुनुपर्छ भने पनि तयार छौँ,” साम्पाङले संसद् बैठकपछि सञ्चारकर्मीसँग बताएका छन्।






