राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला समितिको विस्तारित बैठक शनिबार तनावग्रस्त बनेको छ। जिल्ला अधिवेशनलगायत संगठनात्मक विषयमा छलफल गर्न कलैयामा बोलाइएको बैठक विवादमा परिणत भएपछि केही सांसदलाई कार्यकर्ताले नाराबाजी गर्दै बाहिर पठाएका छन्।
बैठकमा प्रतिनिधिसभा सदस्यहरू चन्दन सिंह, रहबर अन्सारी, अरविन्द साह र गणेश धिमालसहितका नेता सहभागी थिए। तर, बैठक सुरु भएलगत्तै संस्थापन पक्ष र असन्तुष्ट समूहबीच आरोप–प्रत्यारोप सुरु भएको स्थानीय नेताहरूले बताएका छन्।
कार्यकर्ताहरूले केही नेताले पार्टीभित्र दबाबको राजनीति गर्न खोजेको आरोप लगाएपछि वातावरण थप तनावपूर्ण बनेको थियो। विवाद बढ्दै जाँदा बैठकस्थलमै चर्को नाराबाजी र होहल्ला भएको प्रत्यक्षदर्शीले बताएका छन्। त्यसक्रममा उपस्थित सांसदहरूलाई कार्यकर्ताले बाहिरिन बाध्य पारेका थिए।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि जिल्ला प्रहरी कार्यालय बारा बाट प्रहरी टोली बैठकस्थल पुगेको थियो। प्रहरीले सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ।
रास्वपा बाराभित्र पछिल्ला दिनमा आन्तरिक विवाद तीव्र बन्दै गएको छ। केही दिनअघि पार्टीले बारा जिल्लाका संस्थापक सभापति चन्दन स्वर्णकारलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको थियो। त्यसयता जिल्ला संगठनभित्र असन्तुष्टि बढ्दै गएको स्थानीय कार्यकर्ताहरू बताउँछन्।
यसैबीच सिम्रौनगढका पूर्वनगर सभापति साहेब अन्सारीले बैठकका क्रममा आफूमाथि हातपात भएको आरोप लगाएका छन्। पदाधिकारीबाहेक अन्यलाई बैठकबाट बाहिर निकाल्ने प्रयास गर्दा आफू नै आक्रमणमा परेको उनको भनाइ छ। उनले केही सांसदकै भूमिकाका कारण अवस्था तनावपूर्ण बनेको दाबी गरेका छन्।
रास्वपा बारामा चर्कियो आन्तरिक विवाद, बैठकमै सांसदमाथि नाराबाजी
Leave a Comment
Leave a Comment






