काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र माल्दिभ्सबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ। खेल हिमालय स्पोर्ट्स टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ।
नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको छ। चार अंकसहित नेपाल समूहको दोस्रो स्थानमा रहेको छ।
पहिलो खेलमा भारतसँग पाँच सेटसम्म पुगेको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो।
लगातार दुई खेल गुमाइसकेको माल्दिभ्स भने समूह चरणबाट बाहिरिसकेको छ। तुलनात्मक रूपमा कमजोर मानिएको माल्दिभ्सलाई हराउँदै अन्तिम चारमा स्थान बनाउन नेपाल मैदान उत्रिन लागेको हो।
नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा रहेको नेपाली टोलीमा यसपटक युवा खेलाडीहरूको बाहुल्य छ। टोलीमा समावेश ६ नयाँ खेलाडीमध्ये पाँच जनाले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन्।
समूहमा भारत शीर्ष स्थानमा रहेको छ भने किर्गिस्तान तेस्रो स्थानमा छ। नेपालले आज स्पष्ट जित निकाल्न सके सेमिफाइनल यात्रा सहज बन्नेछ।
सेमिफाइनलको लक्ष्यसहित आज माल्दिभ्ससँग नेपाल भिड्दै
Leave a Comment
Leave a Comment






