नेपालले पनि भारतको भूमि मिचेको दाबीपछि संसद्मा तरंग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको अभिव्यक्तिले राजनीतिक वृत्त तताएको छ । प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भारतले मात्र नभई नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको जानकारी आफूले पाएको बताएका हुन् ।
प्रधानमन्त्री शाहले सीमा समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको जानकारी दिँदै दुवै देशबीच औपचारिक छलफलको तयारी भइरहेको बताए । उनले लिपुलेक–लिम्पियाधुरा सम्बन्धी विषयमा नेपालले पठाएको पत्रको भारतबाट जवाफ आइसकेको समेत उल्लेख गरे ।
“म प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले मात्र होइन नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ,” प्रधानमन्त्री शाहले संसद्मा भने, “यो विषयमा दुवै पक्ष बसेर तथ्यका आधारमा छलफल गर्नुपर्छ ।”
उनको यो अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले कडा प्रतिक्रिया दिएको छ । कांग्रेस प्रमुख सचेतक वासना थापा ले प्रधानमन्त्रीको भनाइ गम्भीर विषय भएकाले तत्काल तथ्य सार्वजनिक गर्न माग गरिन् ।
उनले संसद्मा बोल्दै भनिन्, “यदि नेपालले भारतको भूमि मिचेको कुरा सत्य हो भने कुन स्थानमा त्यस्तो अवस्था छ भन्ने स्पष्ट जानकारी सदनलाई दिइनुपर्छ । यदि होइन भने उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्छ ।”
प्रधानमन्त्रीको भनाइपछि सीमा राजनीति फेरि राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ । अब सरकारले यस विषयमा थप स्पष्ट धारणा दिने अपेक्षा गरिएको छ ।

Leave a Comment