कांग्रेस फुट्न नदिने शेखरको अडान, नेतृत्वप्रति असन्तुष्टि

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

विराटनगर, जेठ ३१ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद र मतभेदका बीच कांग्रेसलाई कुनै पनि हालतमा फुट्न नदिने बताएका छन्।
कोशी प्रदेशस्तरीय एकता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस लोकतन्त्र र लोकतान्त्रिक मूल्यको रक्षाका लागि स्थापित पार्टी भएकाले आन्तरिक विवादका कारण कमजोर हुन नहुने बताए। मुलुकमा लोकतन्त्रमाथि चुनौती बढ्दै गएको भन्दै उनले कांग्रेसभित्र पनि आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको टिप्पणी गरे।
कोइरालाले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै स्पष्ट कारणबिना विभिन्न तहका नेतामाथि कारबाही हुनु र सदस्यता विवादलाई लिएर सिर्जना गरिएको अवस्था उचित नभएको बताए। उनले पार्टीभित्र डर र दबाबको वातावरण बनाइएको आरोपसमेत लगाए।
महाधिवेशन तयारीसँग सम्बन्धित विषयमा नेतृत्वसँग सहमति भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो। उनले सदस्यता व्यवस्थापन, प्रतिनिधित्व र विभिन्न समितिको गठनमा सहमतिअनुसार काम नभएको उल्लेख गरे।
कांग्रेस सस्तो लोकप्रियताको राजनीतिमा विश्वास नगर्ने पार्टी भएको बताउँदै उनले संगठनलाई बलियो बनाउन एकता र सहकार्य आवश्यक रहेको धारणा राखे। देश जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको अवस्थामा कांग्रेस एकढिक्का हुन नसके लोकतन्त्र र राष्ट्रियता दुवै कमजोर हुने उनको चेतावनी थियो।
कोइरालाले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउने अभियानमा आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

Leave a Comment