नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज एसियन गेम्स छनोटको महत्वपूर्ण खेलमा घरेलु टोली मलेसियासँग भिड्दै छ। मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने सेमिफाइनल प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।
एसियन गेम्स महिला क्रिकेट छनोट अन्तर्गत नेपाल समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल पुगेको हो। घरेलु टोली मलेसिया भने समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको थियो।
आजको खेल नेपालका लागि निकै निर्णायक मानिएको छ। मलेसियालाई पराजित गर्न सके नेपाल सीधै फाइनलमा पुग्दै यसै वर्ष जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि छनोट हुनेछ।
नेपाली टोली लगातार तेस्रो जित निकाल्दै ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यमा मैदान उत्रँदै छ। समूह चरणमा नेपालले चीनलाई १९ रनले तथा इन्डोनेसियालाई ४ विकेटले हराउँदै आत्मविश्वासपूर्ण प्रदर्शन गरेको थियो।
प्रमुख खेलाडीहरूको उत्कृष्ट लय र बलिङ आक्रमणको मजबुत प्रदर्शनले नेपाली टोली उत्साहित देखिएको छ। प्रशिक्षक तथा टोली व्यवस्थापनले मलेसियाविरुद्ध आक्रामक र संयमित खेल प्रदर्शन गर्ने रणनीति बनाएको जनाइएको छ।
यद्यपि आजको खेलमा हार व्यहोरे पनि नेपालका लागि एसियन गेम्स पुग्ने सम्भावना समाप्त हुने छैन। नेपालले त्यसपछि तेस्रो स्थानका लागि हुने खेल खेल्नेछ र त्यसमा जित निकाल्न सके पनि एसियाली खेलकुदमा स्थान बनाउन सफल हुनेछ।
यस छनोट प्रतियोगिताबाट फाइनल पुग्ने दुई टोली र तेस्रो हुने एक टोली गरी कुल तीन टोली एसियन गेम्सका लागि छनोट हुने प्रावधान रहेको छ।
महिला क्रिकेटमा पछिल्ला वर्षहरूमा नेपालले देखाएको सुधार र निरन्तर प्रदर्शनका कारण समर्थकहरू आजको खेलप्रति निकै आशावादी देखिएका छन्। नेपाली क्रिकेट समर्थकहरूको नजर अहिले क्वालालम्पुरमा केन्द्रित भएको छ।
मलेसियामाथि जित निकाल्दै एसियन गेम्स पुग्ने लक्ष्यमा नेपाल
Leave a Comment
Leave a Comment






