रवि लामिछानेको भारत भ्रमणपछि परराष्ट्रमन्त्री शिशिर खनाल पनि दिल्ली जाने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, जेठ २१ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने तयारीमा रहेका बेला परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लागेका हुन्। भ्रमणका क्रममा उनले जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल हुने बताइएको छ। विशेषगरी व्यापार, लगानी, ऊर्जा, पूर्वाधार विकास, सीमा सम्पर्क तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा विचार आदान–प्रदान हुने मन्त्रालयले जनाएको छ।
यसैबीच भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। उनले यसअघि विदेशमन्त्री जयशंकरसँग पनि छलफल गरेका थिए।
लामिछानेको भ्रमणपछि लगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण हुन लागेकाले यसलाई नेपाल–भारत सम्बन्धका दृष्टिले अर्थपूर्ण कूटनीतिक गतिविधिका रूपमा हेरिएको छ। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Leave a Comment