अर्थमन्त्रीमार्फत प्रधानमन्त्रीको जवाफ, एमालेको आपत्ति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार ४ — विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिएको विषयलाई लिएर प्रतिनिधिसभामा प्रश्न उठेको छ।
बिहीबारको बैठकमा नेकपा (एमाले)का सांसद गुरु बरालले प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्ने मन्त्रालय र निकायका विषयमा अर्थमन्त्रीमार्फत जवाफ दिनु संसदीय अभ्यासअनुकूल नभएको बताएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय योजना आयोग सचिवालयसँग सम्बन्धित बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयं उपस्थित भएर दिनुपर्ने बरालको भनाइ थियो।
उनले प्रधानमन्त्रीले ती निकायहरूको जिम्मेवारी औपचारिक रूपमा अर्थमन्त्रीलाई सुम्पिएको हो वा होइन भन्ने स्पष्ट हुनुपर्ने बताए। जिम्मेवारी हस्तान्तरण गरिएको भए त्यसलाई स्वीकार गर्न सकिने तर त्यसो नभएको अवस्थामा संसदीय परम्परा र नियमको पालना हुनुपर्ने उनको तर्क थियो।
प्रधानमन्त्री बालेन्द्र शाहले भने सम्बन्धित शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आफ्नो प्रतिनिधिका रूपमा तोकेर संसदमा जानकारी पठाएका थिए।
प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्रीले जवाफ दिने व्यवस्थामाथि उठेको यो प्रश्नले संसदमा सरकारको जवाफदेहिता र संसदीय अभ्यासबारे नयाँ बहस सुरु भएको छ।

Leave a Comment