सनातन राज्यको बहस चर्किँदा खुश्बु ओलीको खुलासा : सामाजिक सञ्जालमा धम्की आएको दाबी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सनातन हिन्दु राज्यको पक्षमा धारणा राखेपछि आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा बलात्कार गर्ने धम्की आएको बताएकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले नेपाललाई पुनः सनातन हिन्दु राज्य बनाउनुपर्ने विषय उठाएकै कारण आफू निशानामा परेको दाबी गरिन्। उनले विचार राख्न पाउने संवैधानिक अधिकार प्रयोग गर्दा धम्की र त्रासको सामना गर्नुपरेको बताइन्।
ओलीले संसदमा दिएको अभिव्यक्तिमा धार्मिक आस्था र पहिचानको विषयमा बहस गर्न पाउने अधिकार सबैलाई रहेको उल्लेख गर्दै फरक मतका नाममा हिंसात्मक भाषा प्रयोग हुनु चिन्ताजनक भएको बताइन्।
उनले आफूलाई आएको धम्कीलाई व्यक्तिगत घटनाका रूपमा मात्र नभई धार्मिक विश्वास राख्ने समुदायप्रतिको असहिष्णुताको संकेतका रूपमा बुझ्नुपर्ने धारणा राखिन्। साथै यस्ता गतिविधिले लोकतान्त्रिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने उनको भनाइ थियो।
सांसद ओलीले धम्कीका घटनाबारे सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने माग गर्दै सामाजिक सञ्जाललाई डर र त्रास फैलाउने माध्यम बन्न नदिन आग्रह गरिन्।

Leave a Comment