उम्मेदवारी दर्तासँगै प्रधानमन्त्रीको सन्देश: चुनावी प्रक्रिया स्पष्ट, देश उत्साहपूर्ण चरणमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, माघ ६ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै प्रधानमन्त्री सुशीला कार्कीले सन्तोष व्यक्त गरेकी छन्। उनले यो चरण पूरा भएसँगै निर्वाचनसम्बन्धी अन्योल समाप्त भएको र मुलुक अब पूर्ण रूपमा चुनावी माहोलमा प्रवेश गरेको बताएकी छन्।

मंगलबार राति जारी वक्तव्यमा प्रधानमन्त्री कार्कीले निर्धारित समयभित्र उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति धन्यवाद व्यक्त गरिन्। उनका अनुसार आजको दिन निर्वाचन प्रक्रियाको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा दर्ज भएको छ।

प्रधानमन्त्रीले निर्वाचनप्रति देखिएको व्यापक सहभागितालाई लोकतान्त्रिक प्रणालीप्रतिको जनविश्वासको प्रमाणका रूपमा व्याख्या गरेकी छन्। १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४ सयभन्दा बढी उम्मेदवारहरूको मनोनयन दर्ता हुनु नेपाली समाज लोकतन्त्रप्रति सचेत र प्रतिबद्ध रहेको संकेत भएको उनको भनाइ छ।

उनले निर्वाचन प्रक्रियाले राजनीतिक क्षेत्रसँगै निजी क्षेत्र र समग्र अर्थतन्त्रमा पनि सकारात्मक सन्देश दिएको उल्लेख गर्दै अब मुलुकमा अनिश्चितताको अवस्था नरहेको दाबी गरिन्। देश निर्वाचनको ठूलो उत्सवजस्तै वातावरणमा प्रवेश गरेको प्रधानमन्त्रीको धारणा छ।

वक्तव्यमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा तयार रहेको स्पष्ट पारिन्। सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित रहेको जानकारी दिइन्।

प्रधानमन्त्रीले निर्वाचन कार्यतालिकाअनुसार निरन्तर खटिएको निर्वाचन आयोगको प्रशंसा गर्दै राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई जिम्मेवार र रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेकी छन्। साथै, लोकतान्त्रिक स्थायित्वका लागि सबै नागरिकलाई संयमित र सक्रिय सहभागिताको आह्वान पनि गरेकी छन्।

Leave a Comment