मोदीको ऐतिहासिक कीर्तिमानमा प्रधानमन्त्री बालेन शाहको बधाई

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ऐतिहासिक कीर्तिमान कायम गरेको अवसरमा बधाई तथा शुभकामना दिएका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक एक्स ह्यान्डलमार्फत जारी सन्देशमा मोदीलाई भारतको लोकतान्त्रिक इतिहासमा सबैभन्दा लामो समय लगातार निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई व्यक्त गरिएको हो। साथै उनको सुस्वास्थ्य तथा भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको कामना गरिएको छ।
सन्देशमा नेपाल–भारत सम्बन्धलाई विशेष महत्व दिँदै दुई देशबीचको मित्रता, सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
मोदीले बुधबार भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको ६ दशक पुरानो कीर्तिमान तोड्दै लगातार निर्वाचित प्रधानमन्त्रीका रूपमा सबैभन्दा लामो समय पदमा रहने रेकर्ड बनाएका हुन्। सन् २०१४ मे २६ मा पहिलोपटक प्रधानमन्त्री बनेका उनी त्यसयता निरन्तर नेतृत्वमा छन्।
लगातार ४ हजार ३९९ दिन प्रधानमन्त्री पदमा रहेर मोदीले नेहरूको ४ हजार ३९८ दिनको रेकर्ड उछिनेका छन्। यससँगै उनी भारतीय लोकतान्त्रिक इतिहासमा सबैभन्दा लामो समय लगातार निर्वाचित प्रधानमन्त्री बन्न सफल भएका छन्।

Leave a Comment