टेम्पो भीरबाट खसालिएको प्रकरण : ११ वन कर्मचारी प्रहरी नियन्त्रणमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कैलाली, जेठ ३१ — गोदावरी नगरपालिका–४ बासपानीमा एक महिलाको टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले ११ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न रहेको आशंकामा कर्मचारीहरूसँग सोधपुछ भइरहेको छ। भीमदत्त राजमार्ग क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा शुक्रबार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो।
घटनापछि डिभिजन वन कार्यालय धनगढीले विज्ञप्ति जारी गर्दै कर्मचारीहरूले नियोजित रूपमा बल प्रयोग गरेर टेम्पो भीरबाट नखसालेको दाबी गरेको छ। कार्यालयका अनुसार अतिक्रमण हटाउने क्रममा उत्पन्न परिस्थितिका कारण टेम्पो खस्न पुगेको हो।
तर टेम्पो धनी धनादेवी धामीले वन कर्मचारीहरूले जबर्जस्ती आफ्नो टेम्पो धकेलेर भीरबाट खसालेको आरोप लगाएकी छन्। उनले कानुनी प्रक्रिया पूरा नगरी आफ्नो जीविकोपार्जनको मुख्य साधन नष्ट गरिएको भन्दै घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरेकी छन्।
धामीका अनुसार उक्त घटनाले उनको परिवारलाई आर्थिक तथा मानसिक रूपमा गम्भीर असर पारेको छ। उनले दोषीमाथि कारबाही र क्षतिपूर्तिको मागसमेत गरेकी छन्।
यता सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि घटनाबारे अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ। प्रहरी र सम्बन्धित निकायले घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान जारी राखेका छन्।

Leave a Comment