नेपाल आयल निगमद्वारा प्रतिलिटर १५ रुपैयाँ मूल्यवृद्धि, आजदेखि लागू
काठमाडौं, चैत १९ — ले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ। निगमका अनुसार नयाँ मूल्य चैत २० गते बिहानदेखि लागू भएको हो।
मूल्य समायोजनपछि तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ, जुन यसअघि १८७ रुपैयाँ थियो। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ कायम भएको छ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ। डिजेल तथा मट्टितेलको मूल्य पनि १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
दोस्रो वर्गका सुर्खेत र दाङमा पेट्रोलको मूल्य १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १६६ रुपैयाँबाट वृद्धि भएर १८१ रुपैयाँ पुगेको छ।
निगमले मूल्यवृद्धिपछि पनि आगामी १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको जनाएको छ।

