दोस्रो चरणको वार्ता सुरु : मिटरब्याज पीडित र गृहमन्त्रीबीच राति ८ बजेदेखि छलफल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, असार ३१ — मिटरब्याज पीडित र गृहमन्त्री सुधन गुरुङबीच दोस्रो चरणको वार्ता बुधबार राति ८ बजेदेखि बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको भवनमा सुरु भएको छ।
मध्याह्न १२ बजेका लागि तय गरिएको वार्ता गृहमन्त्रीको सिमरा क्षेत्रको भेटघाट, अनुगमन तथा पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको मन्दिर दर्शनका कार्यक्रमका कारण करिब ८ घण्टा ढिलो सुरु भएको हो।
जनकपुरबाट काठमाडौंतर्फ ‘पैदल न्याय मार्च’मा रहेका मिटरब्याज पीडितहरू सरकारसँग वार्ताका लागि दुई दिनदेखि निजगढमै रोकिएका छन्। मंगलबार भएको पहिलो चरणको वार्ता निष्कर्षमा पुग्न नसकेपछि बुधबार राति दोस्रो चरणको छलफल सुरु गरिएको हो।
पीडित पक्षले आफ्ना छ बुँदे माग कार्यान्वयनबारे सरकारबाट स्पष्ट र ठोस प्रतिबद्धता आए आन्दोलन अन्त्य गर्न सकिने जनाएको छ। माग सम्बोधन नभए काठमाडौंसम्मको पैदल न्याय मार्चलाई निरन्तरता दिने उनीहरूको अडान रहेको छ।
दुवै पक्षबीचको वार्ता जारी रहेकाले सहमति वा निष्कर्षबारे औपचारिक जानकारी आउन बाँकी छ।

Leave a Comment