समृद्ध लुम्बिनी, खुसी नागरिक’ नारासहित ३७ अर्ब ३८ करोडको बजेट

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

लुम्बिनी, असार १ — लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै विकास, सुशासन र आर्थिक समृद्धिलाई केन्द्रमा राखिएको बताएका छन्।
बजेटमा पुँजीगत खर्चतर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालु खर्चका लागि ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ छुट्याइएको छ। स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत विभिन्न शीर्षकमा बजेट उपलब्ध गराइने व्यवस्था गरिएको छ।
वित्तीय समानीकरण अनुदानका लागि ९६ करोड रुपैयाँ, समपूरक अनुदानका लागि ९८ करोड ४० लाख रुपैयाँ, विशेष अनुदानका लागि २० करोड रुपैयाँ तथा सशर्त अनुदानअन्तर्गत १ अर्ब ४१ करोड १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको सरकारको भनाइ छ।
प्रदेश सरकारले आगामी वर्षको बजेटमार्फत प्रदेश संरचनालाई थप सुदृढ बनाउने, सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई संस्थागत गर्ने, आर्थिक गतिविधि विस्तार गर्ने तथा वित्तीय अनुशासन कायम गर्ने लक्ष्य लिएको छ। साथै सार्वजनिक र निजी क्षेत्रको साझेदारी बढाएर उत्पादन, लगानी र रोजगारीका अवसर सिर्जना गर्ने नीति अघि सारिएको छ।
सरकारले ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ भन्ने दीर्घकालीन लक्ष्यलाई आधार बनाएर बजेट तर्जुमा गरेको जनाएको छ। बजेटले आर्थिक विकास, पूर्वाधार निर्माण र नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास प्रदेश सरकारले व्यक्त गरेको छ।

Leave a Comment