काठमाडौं, असार ४ — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। विनियोजन विधेयक (बजेट) २०८३ माथिको छलफल अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्रीसहित विभिन्न मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरिएको छ।
बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको २६औँ बैठकमा बजेटमाथि भएको मन्त्रालयगत छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूको प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ।
यस्तै, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन, गृह, ऊर्जा, परराष्ट्र, अर्थलगायतका मन्त्रालयका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा सदनलाई जवाफ दिनेछन्।
आजको बैठकमा विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरू पनि निर्णयार्थ प्रस्तुत गरिनेछन्। संसद् सचिवालयका अनुसार २० जना सांसदले खर्च कटौतीका प्रस्ताव दर्ता गराएका छन्।
सदनले आजै विनियोजन विधेयकका दफावार छलफल टुंग्याएर निर्णय प्रक्रिया अघि बढाउने तयारी गरेको छ। त्यसपछि अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश गर्ने कार्यसूची रहेको छ।
सरकारले चालु आर्थिक वर्षको बजेट समयमै पारित गर्ने लक्ष्य राखेकाले आजको बैठकलाई बजेट पारित गर्ने दृष्टिले महत्वपूर्ण मानिएको छ।
बजेटमाथि अन्तिम छलफल आज, प्रधानमन्त्रीसहित मन्त्रीहरूले दिनेछन् जवाफ
Leave a Comment
Leave a Comment






