बारा, कात्तिक ८। बाराको कोल्हवी नगरपालिका–२ निकास टोलस्थित खेतको डिलमा अचेत अवस्थामा फेला परेका एक अज्ञात पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार दिउँसो करिब ३ः२५ बजे नाम, थर र वतन नखुलेका अन्दाजी ६० देखि ६२ वर्षका पुरुष खेतको डिलमा अचेत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो।
अस्पतालमा उपचारकै क्रममा दिउँसो ५ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल प्रादेशिक अस्पताल कलैयामै सुरक्षित राखिएको छ।
मृतकको पहिचान खुल्न नसकेकाले प्रहरीले उनलाई चिन्नुहुने व्यक्ति तथा आफन्तलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न अनुरोध गरेको छ।

