रास्वपा महाधिवेशनमा ४२ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने, चितवनमा तयारी तीव्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा चार हजार दुई सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टीले महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम सूची तयार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
रास्वपा केन्द्रीय सचिवालयका अनुसार प्रारम्भिक तथ्यांकमा ३ हजार ८१० प्रतिनिधि देखिएका छन्। विदेशस्थित २५ वटा प्रवास सम्पर्क विभागबाट करिब २०० प्रतिनिधि थपिने र सभापतिबाट विधानअनुसार २०० जना मनोनयन हुने भएकाले कुल प्रतिनिधि संख्या ४२ सय नाघ्ने संगठन विभाग सचिव शंकर श्रेष्ठले जानकारी दिएका छन्।
प्रदेशगत रूपमा सबैभन्दा धेरै प्रतिनिधि बागमती प्रदेशबाट ७९० जना रहनेछन् भने मधेसबाट ६३०, सुदूरपश्चिमबाट ५५०, कोशीबाट ५२०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७० र कर्णालीबाट ३६० जना सहभागी हुने बताइएको छ।
महाधिवेशन प्रतिनिधिमा पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका पदाधिकारीदेखि पार्टीका विभिन्न विभाग, आयोग तथा केन्द्रीय संरचनाका सदस्यहरू समेत रहने व्यवस्था गरिएको छ। गाउँपालिकाबाट एक, नगरपालिकाबाट दुई, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार प्रतिनिधि चयन हुनेछन्।
यसैगरी, अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका, समानुपातिक सूचीमा रहेका तथा पार्टीमा सक्रिय रहेका नेताहरूलाई पनि प्रतिनिधि बन्ने व्यवस्था गरिएको छ।
रास्वपाको महाधिवेशनको उद्घाटन आइतबार चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा हुनेछ भने बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुने तयारी छ। सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन्। प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह पनि उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

Leave a Comment