चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन प्रतिनिधि विवादका कारण प्रभावित भएको छ । सोमबारबाट सुरु गर्ने भनिएको बन्द सत्र प्रतिनिधिको अन्तिम टुंगो लाग्न नसकेपछि निर्धारित समयमा सुरु हुन सकेन ।
दिनभर बन्द सत्रस्थलमा कुरेका प्रतिनिधिहरू करिब ९ घण्टापछि निराश भएर फर्किएका थिए । गर्मीमा बसेका प्रतिनिधिमध्ये केही आराम गरिरहेका थिए भने केही आकांक्षीहरूले यही समयलाई मत माग्ने अवसरका रूपमा प्रयोग गरेका थिए ।
रास्वपाका प्रवक्ता मनिष झाले समयमै बन्द सत्र सुरु गर्न नसकेकोमा क्षमा माग्दै प्रतिनिधिको नामावली स्पष्ट नभएसम्म प्रक्रिया अघि बढाउँदा समस्या हुने बताए ।
प्रतिनिधि संख्या नै विवादको मुख्य कारण
महाधिवेशनका लागि प्रतिनिधिको संख्या र नामावली टुंगो लाग्न नसक्नु नै मुख्य विवाद बनेको छ । सुरुमा करिब ३ हजार प्रतिनिधि हुने बताएको रास्वपाले अहिले संख्या बढेर करिब ४ हजार ३ सय पुगेको जनाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिको अन्तिम सूची तयार गर्न नसक्दा कार्ड वितरणसमेत प्रभावित भएको छ । केही प्रतिनिधि चयन भए पनि उनीहरूले परिचयपत्र पाउन सकेका छैनन् ।
विशेषगरी मधेशबाट आएका प्रतिनिधिको संख्या यकिन हुन नसक्दा समस्या थपिएको बताइएको छ । मधेशका ५ सय ९२ प्रतिनिधि भनिए पनि थप ९६ जनाको नाम समावेश गर्नुपर्ने माग उठेपछि विवाद बढेको हो ।
व्यवस्थापन कमजोर भएको स्वीकार
रास्वपाले पहिलो पटक महाधिवेशन आयोजना गरेको भन्दै केही व्यवस्थापकीय कमजोरी भएको स्वीकार गरेको छ । प्रवक्ता झाले प्रतिनिधि रुजु र कार्ड छपाइमा अपेक्षाभन्दा बढी समय लागेको बताए ।
पहिलो चरणमा करिब ३ हजार कार्ड तयार भएको र बाँकी कार्ड वितरणपछि बन्द सत्र सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्रतिनिधिको खर्च बढ्ने चिन्ता
महाधिवेशन लम्बिँदा देशभर र विदेशबाट आएका प्रतिनिधिहरू चिन्तित भएका छन् । चितवनका होटलहरूमा बसेका प्रतिनिधिको बसाइ अवधि बढ्दा खर्च पनि थपिने अवस्था आएको छ ।
रास्वपाले टाढाबाट आएका प्रतिनिधिको समस्या समाधान गर्ने आश्वासन दिएको छ ।
महाधिवेशनबाट १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने तयारी छ । ९९ जना सदस्य निर्वाचित हुनेछन् भने ५१ जना सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ ।
सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन शाह र एक उपसभापतिमा स्वर्णिम वाग्ले सर्वसम्मत हुने सम्भावना रहेको छ भने अन्य पदाधिकारीका लागि आवश्यक परे निर्वाचन हुने बताइएको छ ।
प्रतिनिधि विवादले रोकियो रास्वपा महाधिवेशन, नेतृत्व चयनको प्रक्रिया लम्बिने
Leave a Comment
Leave a Comment






