चितवन, असार २१ — चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको जंगली हात्तीको आक्रमणमा भरतपुर महानगरपालिका–२३ बेलहट्टाकी एक आमा र उनका ४ वर्षीय छोराको ज्यान गएको छ।
शनिबार राति घरभित्रै रहेका बेला जंगली हात्तीले आक्रमण गर्दा २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको हो।
वडा नम्बर २३ का अध्यक्ष दीपक दवाडीका अनुसार निकुञ्जबाट निस्किएको हात्तीले घर भत्काउँदै आक्रमण गरेको थियो। घटनापछि स्थानीयवासी, जनप्रतिनिधि, सुरक्षा निकाय र निकुञ्ज प्रशासन सक्रिय भएर आवश्यक समन्वय गरेका छन्।
घटनापछि बसेको संयुक्त छलफलले हात्तीलाई तत्काल नियन्त्रणमा लिने, मृतकका परिवारलाई चितवन राष्ट्रिय निकुञ्जमार्फत राहत उपलब्ध गराउने, क्षतिग्रस्त घर पुनर्निर्माण गरिदिने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
यस घटनाले बेलहट्टा क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ। बस्तीमा जंगली जनावरको आवतजावत रोक्न र जनधनको सुरक्षा सुनिश्चित गर्न स्थानीयले दीर्घकालीन तथा प्रभावकारी उपाय अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
घरमै पसेको जंगली हात्तीको आक्रमणमा आमा–छोराको मृत्यु
Leave a Comment
Leave a Comment

