बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ जना सुरक्षित स्थानमा सारिए

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार २७ — लगातारको वर्षापछि बागमती नदीमा आएको बाढीले काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। डुबानसँगै त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू फेरि समस्यामा परेका छन्।
होल्डिङ सेन्टरभित्र पानी पस्दा अधिकांश परिवारका लत्ताकपडा, खाद्यान्न तथा अन्य घरायसी सामग्री पानीले भिजेर क्षति पुगेको पीडितहरूले बताएका छन्। उनीहरूका अनुसार राति अचानक बाढी पसेकाले सामान सुरक्षित स्थानमा सार्ने अवसरसमेत पाएनन्। साथै, सुरक्षाकर्मी ढिलो पुगेको भन्दै उनीहरूले गुनासो गरेका छन्।
गृह मन्त्रालयका अनुसार राति १ः३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा डिजास्टर म्यानेजमेन्टसहित ३० जना र नेपाल प्रहरीका थप ३० जना गरी संयुक्त उद्धार टोली परिचालन गरिएको थियो।
उद्धार टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई सुरक्षित रूपमा त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा स्थानान्तरण गरेको छ। ६ जना आफन्त तथा नजिकैको होस्टलमा बस्न गएका छन् भने बाँकी ९४ जना सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसेका छन्।
गृह मन्त्रालयका अनुसार प्रभावित परिवारका लागि खाना, खानेपानी तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने कार्य जारी रहेको छ। घटनास्थलमा सम्बन्धित निकाय र विषयगत क्लस्टरहरू परिचालन भई राहत तथा व्यवस्थापनको काम गरिरहेका छन्।

Leave a Comment