बारा, असार ३२ — सरकार र मिटरब्याज पीडितबीच तेस्रो चरणको वार्ता भए पनि कुनै सहमति जुट्न सकेको छैन। बुधबार राति बाराको निजगढमा भएको वार्ता निष्कर्षविहीन टुंगिएपछि पीडितहरूले लिखित सम्झौता नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।
सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री सुधन गुरुङ ले आन्दोलन स्थगित गरेर काठमाडौंमा वार्ता अघि बढाउन प्रस्ताव गरेका थिए। तर मिटरब्याज पीडितहरूले आन्दोलन रोकेर वार्ता गर्ने सरकारी सर्त अस्वीकार गर्दै संघर्ष र वार्ता सँगसँगै अघि बढ्ने अडान दोहोर्याए।
मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाह ले सम्झौतामा हस्ताक्षर नभएसम्म आन्दोलन स्थगित नहुने बताए। उनका अनुसार सरकारसँग भएका सहमतिलाई आधिकारिक रूपमा लिखित सम्झौतामार्फत लागू गरिएपछि मात्रै आन्दोलन रोक्ने निर्णय हुनेछ।
सरकारी पक्षले पीडितका अधिकांश माग स्वीकार गर्न सकिने जनाउँदै केही बुँदाको भाषा परिमार्जन गर्नुपर्ने प्रस्ताव राखेको थियो। साथै अन्तिम सम्झौता काठमाडौंमा गर्ने सुझाव पनि दिएको थियो। तर पीडितहरूले हस्ताक्षर भएको दिनदेखि मात्र सम्झौता कार्यान्वयन हुने भएकाले त्यसअघि आन्दोलन रोक्न नसकिने अडान राखे।
वार्तामा सहमति नभएपछि आन्दोलन यथावत् रहने जनाइएको छ। यसबारे थप रणनीति तय गर्न मिटरब्याज पीडित संघर्ष समितिले सचिवालय बैठकसमेत बोलाउने तयारी गरेको छ।
जनकपुरबाट पैदल न्याय मार्च सुरु गरेका मिटरब्याज पीडितहरू आफ्ना माग पूरा गराउन काठमाडौंतर्फ अघि बढिरहेका छन्। उनीहरूलाई भेट्न गृहमन्त्री गुरुङ बारा पुगेका थिए र हालसम्म दुई चरणभन्दा बढी वार्ता भए पनि कुनै औपचारिक सहमति हुन सकेको छैन।
मिटरब्याज पीडित अडानमा, ‘सम्झौता नभएसम्म वार्ता पनि, आन्दोलन पनि’
Leave a Comment
Leave a Comment

