इरानसँगको तनावपछि अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका १४ देश छाड्न आग्रह

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१ चैत, काठमाडौं। इरानसँग बढ्दो सैन्य तनावपछि अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका १४ देश छाड्न आग्रह गरेको छ।

इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी आक्रमण गरेपछि सुरक्षा जोखिम बढेको भन्दै अमेरिकाले यस्तो अपिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसअघि बग्दादस्थित अमेरिकी दूतावास परिसरमा क्षेप्यास्त्र खसेको घटनापछि अमेरिकाले आफ्ना नागरिकलाई इराक तत्काल छाड्न चेतावनी दिएको थियो। दूतावासले जारी गरेको सूचनामा इरान समर्थित सशस्त्र समूहबाट गम्भीर सुरक्षा खतरा हुन सक्ने उल्लेख गरिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले ओमानबाट गैर–आकस्मिक सरकारी कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई पनि बाहिरिन निर्देशन दिएको छ।

यसैबीच स्विट्जरल्यान्डले आफ्नो हवाई क्षेत्र प्रयोग गरी अमेरिकी सेनाका दुई उडान सञ्चालन गर्न गरिएको अनुरोध अस्वीकार गरेको जनाएको छ। स्विस सरकारले विज्ञप्ति जारी गर्दै देशको ‘तटस्थता कानुन’ का कारण यस्तो निर्णय गरिएको स्पष्ट पारेको हो।

उक्त कानुनअनुसार द्वन्द्वमा संलग्न पक्षलाई सैन्य उद्देश्यका लागि स्विट्जरल्यान्डको हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिन नपाइने व्यवस्था रहेको छ।

तर स्विस सरकारले अन्य तीन उडानलाई भने अनुमति दिएको जनाएको छ। तीमध्ये एक उडान मर्मतसम्भारका लागि र दुई उडान ढुवानीसँग सम्बन्धित रहेको बताइएको छ।

मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढ्दै गएको तनावका कारण सुरक्षा अवस्था थप जटिल बन्दै गएको बताइएको छ।

Leave a Comment