मिटरब्याज वार्ता टुंग्याउन पीडित पक्षको टोली काठमाडौं, अन्तिम सहमतिको तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, असार ३२ — मिटरब्याज पीडित र सरकारबीच जारी वार्तालाई निष्कर्षमा पुर्‍याउने तयारीस्वरूप पीडित पक्षको वार्ता टोली काठमाडौं प्रस्थान गरेको छ। तीन दिनदेखि निरन्तर भइरहेको छलफल अन्तिम चरणमा पुगेपछि औपचारिक सहमतिका लागि टोली राजधानी गएको हो।
वार्ता टोलीका सदस्य तथा संयुक्त जनअधिकार नेपालका अध्यक्ष निर्ग नविनले चार चरणको वार्तापछि दुवै पक्ष सहमतिनजिक पुगेको बताए। उनका अनुसार सरकारले मिटरब्याज प्रथाको अन्त्य, त्यससम्बन्धी विशेष कानुन निर्माण तथा विशेष अदालत गठनका विषयमा सकारात्मक प्रतिबद्धता जनाएको छ।
आन्दोलनका अध्यक्ष अवधेश कुसवाहको नेतृत्वमा पाँच सदस्यीय टोली अन्तिम सहमतिमा हस्ताक्षर गर्न काठमाडौं गएको हो। यसअघि आन्दोलनले सरकारसँग वार्ताका लागि आफ्ना स्पष्ट तीन बुँदे आधार (बटम लाइन) प्रस्तुत गरिसकेको छ।
पीडित पक्षले वार्ताका लागि आफ्नै वार्ता समिति गठन गरिसकेको भए पनि सरकारका तर्फबाट भने औपचारिक वार्ता समिति अझै घोषणा हुन बाँकी रहेको जनाइएको छ। यद्यपि दुवै पक्षबीच सहमति जुट्ने अपेक्षासहित वार्ता अन्तिम निष्कर्षतर्फ अघि बढेको छ।

Leave a Comment