राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सभा निर्वाचनको औपचारिक प्रतिवेदन बुझाइयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १४ माघ। राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न भएपछि त्यसको आधिकारिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ।

निर्वाचन आयोगले ११ माघमा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम समेटिएको विस्तृत प्रतिवेदन बुधबार शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपतिसमक्ष बुझाएको हो।

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले राष्ट्रपतिलाई निर्वाचनको समग्र प्रक्रिया र नतिजासहितको प्रतिवेदन हस्तान्तरण गरेका थिए।

सो अवसरमा निर्वाचन आयोगका आयुक्तहरू सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, साथै आयोगका सचिव कृष्णबहादुर राउत लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएसँगै संवैधानिक प्रक्रिया अनुसार आयोगले राष्ट्रपतिलाई प्रतिवेदन पेस गरेको हो। यससँगै नव निर्वाचित सदस्यहरूको पदावधि सुरु गर्ने औपचारिक प्रक्रिया अघि बढ्नेछ।

Leave a Comment