सुर्खेत, साउन ९ — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट अलग हुने घोषणा गरेका हुन्।
मुख्यमन्त्री कँडेलविरुद्ध गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका १६ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। सोही प्रस्तावमाथि छलफल गर्ने उद्देश्यले शनिबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको थियो। तर छलफल अघि नै उनले राजीनामा दिएका हुन्।
यसअघि गत असार ३१ गते सत्ता साझेदार नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा सरकारबाट राजीनामा दिएपछि कर्णाली सरकार अल्पमतमा परेको थियो।
प्रदेशसभामा सम्बोधनका क्रममा कँडेलले पद र कुर्सी आफ्नो लागि सबैभन्दा ठूलो विषय नभएको उल्लेख गर्दै प्रदेशको हितलाई प्राथमिकतामा राखेर राजीनामा दिएको बताए।
यामलाल कँडेल २०८० साल चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनको राजीनामासँगै अब कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

