विराटनगर, साउन ११ — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा उत्पन्न हिंसात्मक अवस्थापछि सरकारले नेपाली सेना परिचालन गरेको छ भने घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति पनि गठन गरेको छ।
सोमबार बिहानदेखि कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएर टायर बाल्ने, तोडफोड र आगजनी गर्न थालेपछि स्थिति नियन्त्रणबाहिर गएको भन्दै स्थानीय प्रशासनले नेपाली सेना परिचालन गरेको हो। बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेनाको टोली घटनास्थल पुगेपछि मात्र अवस्था क्रमशः नियन्त्रणमा आउन थालेको प्रशासनले जनाएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि सेना परिचालन गर्नुपरेको थियो। सेनाको टोली कप्तानगञ्ज पुगेपछि प्रदर्शनकारीलाई तितरबितर पार्ने कार्य सुरु गरिएको प्रशासनले जनाएको छ।
यसअघि प्रदर्शनकारीहरूले पाँच वटा पसलमा तोडफोड गरी सामान बाहिर निकालेर आगजनी गरेका थिए। प्रहरीका अनुसार एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत ग्यारेज र तीन वटा किराना पसलमा क्षति पुगेको छ।
उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार समितिलाई घटनाको सत्यतथ्य अनुसन्धान गरी एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ऊर्जा मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन् भने सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिवको भूमिकामा रहनेछन्।
देवानगञ्जमा आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका छन्। झडपका क्रममा केही सुरक्षाकर्मीसमेत घाइते भएका छन्।
घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको भए पनि मृतक र घाइते पक्षका समर्थकहरूले विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन्। प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध भएको छ भने केही स्थानमा सोमबार पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको प्रहरीले जनाएको छ।
सरकारले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयवासीलाई संयमता अपनाउन तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।
देवानगञ्ज तनाव चर्कियो: सेना परिचालन, घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
Leave a Comment
Leave a Comment

