काठमाडौं, साउन १३ — नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडको विरोधमा आज पनि देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
संघले घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कडा कानुनी कारबाही हुनुपर्ने माग गर्दै मंगलबारदेखि आन्दोलन सुरु गरेको हो। दोषीमाथि प्रभावकारी कारबाही नभएको भन्दै आन्दोलनलाई थप सशक्त बनाइएको संघले जनाएको छ।
आन्दोलनअन्तर्गत आज बिहान १० बजे काठमाडौंको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ। यस्तै, काठमाडौं बाहिरका जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइने तथा अस्पताल र स्वास्थ्य संस्थामै धर्ना र विरोध प्रदर्शन गरिने जनाइएको छ।
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता गर्न, दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न तथा यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन सरकारसँग माग गरेको छ।
संघका अनुसार आन्दोलनका कारण देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेक ओपीडी, नियमित शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवाहरू प्रभावित भएका छन्।
आक्रमणका दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकको आन्दोलन जारी, आज पनि आकस्मिकबाहेक सबै सेवा बन्द
Leave a Comment
Leave a Comment

